त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा सञ्चालकलाई पास बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा सञ्चालकलाई पास बन्द

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पास वितरणमा कडाइ गरेको छ। पासका आधारमा अनावश्यकरूपमा विमानस्थलभित्र वायुसेवा सञ्चालकहरू प्रवेश गर्दा भिडभाड बढेको र विमानस्थल सुरक्षामा नै चुनौती बढेको भन्दै विमानस्थलले कडाइ गरेको हो।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पास वितरणमा कडाइ गरिएको जानकारी दिए।

विमानस्थलले १० दिनयता पास वितरणमा कडाइ गरिरहेको हो। अहिले खासगरी हेलिकोप्टर कम्पनीका अध्यक्ष, उपाध्यक्ष र सञ्चालकलाई पास वितरणमा रोक लगाइएको छ। योसँगै एयरलाइन्सका मार्केटिङका कर्मचारीलाई समेत पास वितरणमा रोक लगाइएको छ।

विमानस्थलले एकाउन्टेबल म्यानेजर, अप्रेसन विभागका कर्मचारी, इन्जिनियर र उडानमा संलग्नलाई मात्र पास दिँदै आएको छ। त्यसअघि विमानस्थलले एयरलाइन्स र हेलिकोप्टर सञ्चालकलाई पनि मागका आधारमा पास दिँदै आएको थियो।

प्रकाशित मिति:     १८ मंसिर २०८०, सोमबार  |    Himali Khabar