एनसेलको शेयर खरिद-बिक्री शङ्काको घेरामा

एनसेलको शेयर खरिद-बिक्री शङ्काको घेरामा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद-बिक्री विवाद र शङ्काको घेरामा परेको छ ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको छ । राज्यका निकायलाईसमेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद-बिक्री भए भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पारदर्शितामाथि प्रश्न उठेका हुन् ।

एनसेलको स्वामित्व खरिद-बिक्री भएको विषयमा सार्वजनिक लेखा समितिले पनि चासो देखाएको छ । समितिले एनसेल खरिद-बिक्रीका विषयमा जानकारी मागसहित आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको समितिका सचिव एकराम गिरीले पुष्टि गर्नुभयो ।

एनसेलको शेयर खरिद-बिक्रीमा देखिएका प्रश्न र शङ्काबारे सरकारले जवाफ दिनुपर्ने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल बताउनुहुन्छ ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको प्रतिशत शेयर खरिद-बिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) मा शेयरधनीको शेयर खरिद–बिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । आजियटाले यो प्रक्रिया पूरा गरे-नगरेको बारे लेखा समितिले प्राधिकरणसँग जवाफ मागेको छ ।

त्यस्तै, निकै कम रकममा शेयर कारोबार भएको देखिएपछि यो व्यावसायिक सम्झौता थप शङ्का गर्ने ठाउँ देखिएको छ । सन् २०१६ मा तत्कालीन माउ कम्पनी स्विडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् साढे छ अर्बमा बिक्री भएको छ ।

त्यस्तै यो कारोबारमा आयकर ऐन, २०५८ अनुसार पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई कसरी सम्बोधन गरिएको छ भन्ने पनि स्पष्ट छैन । पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी दुई वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भई यस्तो कम्पनीले शेयर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेमा सो सम्बन्धमा एनसेल नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको छैन । यसबारे पनि लेखा समितिले प्रश्न गरेको छ ।

प्रकाशित मिति:     १८ मंसिर २०८०, सोमबार  |    Himali Khabar