चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई

चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई

काठमाडौं । चोभार सुक्खा बन्दरगाह निजी साझेदारी (पीपीपी) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । विश्व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई दिएको छ ।

समितिले गत साउन ९ गते टेन्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई सञ्चालन गर्ने अनुमति दिएको हो ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्राविधिक मूल्यांकनमा ट्रान्स नेपालले बन्दरगाह सञ्चालनको जिम्मा पाएको बताए । उनले सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ र टर्मिनल सट्टा बहालमा दिनेसम्बन्धी, २०७० मा पोर्टहरू कम्पनीमार्फत सञ्चालन तथा व्यवस्थापन गराउने र नियमन समितिले गर्ने उल्लेख भएबमोजिम निजी क्षेत्रलाई सञ्चालन गर्न दिएको बताए ।

सुक्खा बन्दरगाह सञ्चालन निजी क्षेत्रले गर्ने विश्वव्यापी प्रचलन रहेको उनको भनाइ छ । उनका अनुसार चोभार सुक्खा बन्दरगाह सञ्चालनमा मासिक रूपमा १६ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

प्रकाशित मिति:     ९ मंसिर २०८०, शनिबार  |    Himali Khabar