नेपाली श्रमिक शून्य लागतमा जर्मनी जान पाउने

नेपाली श्रमिक शून्य लागतमा जर्मनी जान पाउने

काठमाडौं । जर्मनीले नेपाली नागरिकलाई प्रशिक्षार्थी श्रमिकका रुपमा लैजाने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा मंगलबार जर्मनीमा भएको सम्झौताअनुसार नेपाली प्रशिक्षार्थी श्रमिकका लागि जर्मनीले अनलाइन प्रणालीबाट आवेदन माग गर्नेछ।

नेपाल र जर्मनी सरकारबीच भएको सम्झौताअनुसार नेपालीहरु शून्य लागतमा जर्मनी जान पाउनेछन्। जर्मनीमा जाने प्रशिक्षार्थी श्रमिकले आफ्नो रुचि र क्षमताअनुसार सीप सिकेर पास भएपछि मात्रै सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने समझदारीपत्रमा उल्लेख छ।

समझदारीअनुसार जर्मनी जानका लागि विशेष क्षेत्र नतोकिएको र आवश्यकताका आधारमा आवेदन माग गरेर सबै क्षेत्रमा पठाउनलाई खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जर्मनीको आन्तरिक श्रम कानुनले श्रमिकलाई दिएको अधिकार विश्वमै उदाहरणीय भएको र त्यहाँका नागरिकसरह नेपालसहित आप्रवासी श्रमिकले सेवा सुविधा पाउने बताए। उनले जर्मनी सरकारसँग भएको श्रम समझदारी अनुसार सरकारीस्तरबाट आवेदन माग गरेर पठाइने बताए।

प्रकाशित मिति:     २४ आश्विन २०८०, बुधबार  |    Himali Khabar