७७ अर्बको परियोजना कार्यान्वयन घोषणा गर्न एमसीसीका उपाध्यक्ष नेपाल आउँदै

७७ अर्बको परियोजना कार्यान्वयन घोषणा गर्न एमसीसीका उपाध्यक्ष नेपाल आउँदै

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणमा मंगलबार अपराह्न नेपाल आउँदैछन्। एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै बेलुकी काठमाडौं आइपुग्ने कार्यक्रम छ।

क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम तय भइसकेको छ। उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अरु अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ।

क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ। उनी भदौ १५ मा कतार हुँदै अमेरिका फर्कने छन्।

प्रकाशित मिति:     १२ भाद्र २०८०, मंगलवार  |    Himali Khabar