२५ लाखसम्म ऋण लिन पान नम्बर अनिवार्य

२५ लाखसम्म ऋण लिन पान नम्बर अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशिका जारी गरी २५ लाख रुपैयाँभन्दा बढी ऋण लिने व्यक्तिले अनिवार्य रूपमा पान लिनुपर्ने व्यवस्था गरेको हो। चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिलाई कार्यान्वयन गर्न ब्यांक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकामा यस्तो संशोधन गरिएको छ।

यसअघि ऋण रकमको सीमा ५० लाख थियो। ऋणलाई पारदर्शी बनाउन गरिएको यो व्यवस्थाले साना ऋणीलाई केही जटिलता थप्नेछ। केन्द्रीय बैंकले निर्देशिका मार्फत शेयर धितोमा दिइने ऋणमा भने केही लचकता अपनाएको छ। बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखेर दिने ५० लाखसम्म ऋण दिंदा १०० प्रतिशतसम्म मात्रै जोखिम भार राखे पुग्ने भएको छ। यसअघि २५ लाख रुपैयाँसम्म मात्रै यस्तो सीमा थियो।

यो व्यवस्थाले ५० लाखसम्म शेयर कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई उत्प्रेरित गर्छ। जसले गर्दा यो क्षेत्रमा कर्जा बढ्ने सम्भावना हुन्छ।
त्यसैगरी, केन्द्रीय बैंकले पहिलो पटक घर खरीद वा निर्माण गर्ने व्यक्तिलाई दिने दुई करोडसम्म आवासीय घर कर्जामा धितोको ७० प्रतिशतसम्म ऋण दिन मिल्ने व्यवस्था गरेको छ। यसअघि यो एक करोड ५० लाखसम्म मात्रै थियो।

प्रकाशित मिति:     १२ श्रावण २०८०, शुक्रबार  |    Himali Khabar