औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टासम्म लोडसेडिङ

औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टासम्म लोडसेडिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ओद्यौगिक क्षेत्रमा नौ घण्टासम्म लोडसेडिङ गरेको छ। भारतबाट आयात हुने विद्युत कटौती भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रमा बत्ती काटेको छ।

बिहान करिब ५ घण्टा र साँझ ४ घण्टा विद्युत कटौती गर्न थालिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। ‘हिजो दिउँसोदेखि भारतबाट आयात हुने विद्युत कटौती भएको छ। भारतमा विद्युत उत्पादनमा समस्या आएको छ। १३ सय ३० मेगावाटको प्लान्टमा समस्या आएपछि मर्मतको काम चलिरहेको छ,’ उनले भने, ‘त्यही भएर हामीले पिक आवरको बिजुली काटेका हौं।’

भट्टराईका अनुसार ठुला उद्योगहरुमा मात्रै विद्युत कटौती भएको छ। साना उद्योहरुको कटौती भएको छैन। भारतबाट आयात हुने १०० मेगावाटभन्दा बढी विद्युत कटौती भएका कारण पिक आवरमा कटौती गर्नु परेको उनको भनाइ छ। १८३० मेगावाट पिक डिमान्ड छ। आन्तरिक उत्पादनले नपुगेका कारण करिब २५ प्रतिशत आयात हुने भइरहेको छ। २२ सय मेगावाट जडित क्षमता पुगेको भएपनि अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित छ।

नदीको सहत घटी हिउँदमा ३२ देखि ३५ प्रतिशत मात्रै उत्पादन हुने गरेको छ। सोही आन्तरिक माग धान्न भारतबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ। गत वर्ष पनि विद्युत आपूर्तिमा समस्या आउँदा प्राधिकणले औद्योगिक क्षेत्रको विद्युत कटौती गर्नु परेको थियो।

प्रकाशित मिति:     २६ पुष २०७९, मंगलवार  |    Himali Khabar