बैंकहरुमा मर्जरको लहर,वाणिज्य बैंक २४ र विकास बैंकको संख्या १७ मा झर्यो

बैंकहरुमा मर्जरको लहर,वाणिज्य बैंक २४ र विकास बैंकको संख्या १७ मा झर्यो

पूर्ण प्रसाद चौलागाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७४ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुको चुक्ता पुँजी वृद्धि गर्ने र संख्या घटाउने नीति लिएको थियो । त्यसपछि २०७६ मा तत्कालीन दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता मर्जर भएर विग मर्जरको सुरुवात गरेका थिए । गत असारमा नबिल बैंकले नेपाल९बंगलादेश बैंकलाई प्राप्ति गर्यो ।

गत आइतबार कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक आपसमा गाभिएर कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् । सोमबार मात्रै ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू एकआपसमा गाभिएर ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

योसँगै वाणिज्य बैंकको संख्या २६ बाट २४ मा झरेको छ । मंगलबार प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी प्रभु बैंकको नामबाट एकीकृत कारोबार थाल्दैछ भने बुधबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् । यी चार बैंकको मर्जर पश्चात पुस महिनामा मात्रै वाणिज्य बैंकको संख्या ८ वटाले घटेर २२ मा सिमित हुनेछ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पुससम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले कर्जा–निक्षेप अनुपात सीडी रेसियो तोकेको सीमा नाघेमा उक्त सीमाभित्र ल्याउन २ वर्षको समय दिने र तोकिएको क्षेत्रमा अनिवार्य कर्जा प्रवाह गर्नुपर्ने सीमा एक वर्ष थप गर्ने लगायतका छुट दिएका कारण पुसभित्रै मर्जर गरेर कारोबारमा हतार गरेको देखिन्छ । यद्यपी हिमालय बैंक र सिभिल बैंक पनि आगामी माघदेखि एकीकृत कारोबार सुरु गर्ने तयारीमा छन् ।

आगामी साता लक्ष्मी बैंक र सनराइज बैंकबीच पनि मर्जरको सम्झौता हुँदैछ । यी बैंकबीचको मर्जर प्रक्रियाले सफलता पाएमा वाणिज्य बैंकको संख्या २० मा झर्नेछ । नेपाल राष्ट्र बैंकको अध्ययनले पनि नेपालमा वाणिज्य बैंकको संख्या धेरै भएकाले बढीमा १५ वटा मात्र आवश्यक रहेको निश्कर्ष निकालेको थियो ।

२०७० असार मसान्तसम्म नेपालमा ३२ वटा बाणिज्य बैंक र ८८ वटा विकास बैंक थिए । अहिले वाणिज्य बैंकको संख्या २४ मा झर्दा विकास बैंकको संख्या भने १७ मा खुम्चिएको नेपाल राष्ट्र बैंकल् जनाएको छ ।

प्रकाशित मिति:     २६ पुष २०७९, मंगलवार  |    Himali Khabar