गुजुल्टिएका तार हटाएर ठमेललाई सफा बनाइँदै, कुलमान घिसिङ्गले गरे अनुगमन

गुजुल्टिएका तार हटाएर ठमेललाई सफा बनाइँदै, कुलमान घिसिङ्गले गरे अनुगमन

काठमाडौं । ठमेल पर्यटन विकास परिषद (टीटीडीसी) को सक्रियतामा नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरुको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरुलाई हटाउने र व्यवस्थापन गर्ने काम केही सातादेखि चलिरहेको छ। विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण पर्यटकीय क्षेत्र ठमेल कुरुप बनेको थियो।

प्राधिकरणले गत कात्तिकमा आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्नो संरचना निर्माण(व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो। सोहीअन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरु हटाउन सुरु गरिएको हो। ठमेल क्षेत्रमा लाइन सफा गर्ने सिलसिलामा ४८ ट्रक अव्यवस्थित र काम नलाग्ने तार तथा उपकरणहरु निकालिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित उच्चस्तरीय टोलीले बुधबार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ।


कार्यकारी निर्देशक घिसिङले विद्युतको तत्कालका लागि नाङ्गो तारलाई फेर्ने, बाङ्गो र मक्किएका पोलहरु हटाएर राम्रा राम्रो पोलहरु राखी पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताएका छन्।उनले काठमाडौं उपत्यका, पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको बताएका छन्।

परिषद्का अध्यक्ष शर्माका अनुसार तार व्यवस्थापनसँगै ठमेलमा सिसिक्यामेरा जडान गरिने छ । त्यसपछि सडक छेउका घरहरुमा रङ्गरोंगनको काम गरि सुन्दर ठमेल निर्माण गरिने छ।

प्रकाशित मिति:     १३ पुष २०७९, बुधबार  |    Himali Khabar