आईएमएफले नेपाललाई सवा ७ अर्ब रुपैयाँ दिने

आईएमएफले नेपाललाई सवा ७ अर्ब रुपैयाँ दिने

काठमाडौं । नयाँ सरकार गठन भएलगत्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कर्जा सुविधा (ईसिएफ) अन्तर्गत दोस्रो किस्ता बाफतको रकम निकासा गर्ने जनाएको छ ।

आईएमएफले गरिरहेको मूल्यांकन सम्पन्न नभएकाले दोस्रो किस्ता बापतको रकम निकासा गर्न ढिलाइ भएको आईएमएफकी नेपाल प्रतिनिधि टेरेना डबान सान्चेजले जानकारी दिइन् ।

गत वर्ष पुष २८ गते आईएमएफले नेपाललाई ३८ महिनाभित्र विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने निर्णय गरेको थियो ।

गत वर्ष पुष ७ गते अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आईएमएफको प्रबन्ध निर्देशक क्रिस्टिालिना जर्जिएभालाई पत्र लेख्दै खुल्ला बजार अर्थतन्त्रप्रतिको प्रतिबद्धता जनाएपछि कोरोना महामारीपछिको आर्थिक पुर्नउत्थान र वित्तीय क्षेत्र सुधारका लागि आईएमएफले सहयोग गर्ने निर्णय गरेको थियो ।

आईएमएफले पहिलो किस्ता बाफतको ११ करोड अमेरिकी डलर गत पुष २८ गते नै निकाससमेत गरेको थियो । तर, त्यसपछि दोस्रो किस्ता बाफतको ५ करोड ५० लाख अमेरिकी डलर (करिब सवा ७ अर्ब रुपैयाँ) भने अहिलेसम्म निकासा गरेको छैन ।

जबकी, सम्झौताअनुसार गत जेठ २९ गते दोस्रो किस्ता निकासी भएर अगामी पुष २८ सम्ममा तेस्रो किस्ता समेत निकासी हुनु पर्ने थियो । नेपाल सरकारले ईसीएफ सुविधा लिँदा गरेका सम्झौता अनुसार काम नगरेपछि आईएमएफले रकम निकासा गर्न नसकेको आईएमएफका अधिकारीहरु बताउँछन् ।

सम्झौता अनुसार नेपाल सरकारले काम गरे/नगरेको विषयमा पहिलो मूल्यांकन गत वर्ष माघमा शुरु भएर असार १२ गते सम्पन्न हुनु पर्ने थियो ।

प्रकाशित मिति:     ६ पुष २०७९, बुधबार  |    Himali Khabar