खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा नजान आग्रह

खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा नजान आग्रह

काठमाडौं, १४ चैत । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले शुक्रबार एक अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गरेका छन्।

उनले अत्यावश्यक नभई सवारी साधान नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे। अपिलमा घरबाहिरको खुलास्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजान भनेका छन्।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माणकार्य केही दिनलाई स्थगन गर्न पनि आव्हान गरेका छन्।

प्रकाशित मिति:     १४ चैत्र २०७७, शनिबार  |    Himali Khabar