देशभर सात सय ६७ किलोमिटरमा फाइबर जडान

देशभर सात सय ६७ किलोमिटरमा फाइबर जडान

काठमाडौं, १२ चैत । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म सात सय ६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ ।

पहिलो खण्डअन्तर्गत प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको नेपाल टेलिकमले उक्त क्षेत्रमा फाइबर जडान सम्पन्न गरेको हो । सम्झौताअनुसार टेलिकमले तीन प्रदेशमा दुई हजार एक सय ७९ किलोमिटर फाइबर बिछ्याउनुपर्दछ । प्राधिकरणले मध्यपहाडी लोकमार्गको छ हजार तीन सय ३१ किलोमिटर क्षेत्रमा फाइबर बिछ्याउने योजनालाई तीन खण्डमा विभाजन गरेर तीन छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिएको थियो ।

तीन खण्डमध्येमा एक खण्डमा विस्तारको काम भए पनि दुई खण्डको काम शुरु हुनै सकेको छैन । प्राधिकरणले पहिलो खण्डअन्तर्गत नेपाल टेलिकमसँग पूर्वी नेपालदेखि गोरखासम्म फाइबर बिछ्याउन २०७३ साल असोज १२ गते दुई वर्षको सम्झौता गरेको थियो ।

प्रकाशित मिति:     १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar