नेपालमा एफडीआइको बाधक अस्थिर राजनीति र प्रशासनिक झन्झट हो

नेपालमा एफडीआइको बाधक अस्थिर राजनीति र प्रशासनिक झन्झट हो

देशबन्धु बस्नेत (अजित), सभापति, द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम

प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) कुनैपनि मुलुकको विकासको आधार हो । मुलुकको विकास र समृद्धिका लागि एफडीआई महत्वपूर्ण छ । आज संसारलाई हेर्ने हो भने जुनसुकै मुलुकको विकास र समृद्धिका लागि एफडीआईको महत्वपूर्ण स्थान रहेको छ । हाम्रै छिमेकी मुलुक भारत र चीनलाई हेर्ने हो भने ति मुलुकको विकासको गतिसँगै एफडीआई पनि तीब्र रुपमा बढीरहेको छ । तर नेपालमा कुन रुपमा अपेक्षा गरिएको हो त्यो अनुरुपमा लगानी भित्र्न सकेको छैन् । यसलाई सरकारले गम्भिर रुपमा लिनु जरुरी छ ।

यसका लागि अहिलेसम्म नेपालमा आएका लगानीकर्ताहरुसँग सरकारले ठोस छलफल गर्न जरुरी छ । उनीहरुले नेपालमा लगानी गर्दा के कस्ता समस्या भोग्नु परेको छ । त्यो बुझ्न र त्यसलाई क्रमशः हल गर्दे जान सहज हुन्छ । वैदेशिक लगानी नयाँ ल्याउने एउटा कुरा हो भने भइरहेकाको सुरक्षा गर्नु राज्यको अर्को महत्वपूर्ण दायित्व हो ।

हामी कहाँ लगानी आएका छन् । तर बढ्न सकेको छैन् । अर्थात दोस्रो परियोजना आउने सम्भावना कम छ । किनकी पहिलो परियोजनामै निकै अप्ठ्याराहरु भोग्नु परेको हुन्छ । त्यसकारण उनीहरुको समस्या हल गरिदियौ भने नयाँ ल्याउन सहज हुन्छ ।

वैदेशिक त्यस्तो लगानी हो, जुन क्षेत्रमा नेपाली लगानीकर्ताले लगानी गर्न सक्ने अवस्था छैन् वा लगानीको अभाव छ, त्यो क्षेत्रमा लगानी ल्याउने हो । यसअघि वैदेशिक लगानीको न्यूनतम सिमा ५ करोड रुपैयाँ थियो । त्यो राम्रै बेन्चमार्क थियो । त्यसलाई केही दिनअघि सरकारले संशोधन गरेर २ करोडमा झारेको छ । २ करोडको सिमाबारे पनि मेरो कुनै कमेन्ट छैन् । तर यसबारे सरकारले कार्यविधि बनाउन आवश्यक छ । कुन क्षेत्रमा २ करोडको लगानी ल्याउने हो । काठमाडौंमा रेन्टुरेन्ट, ट्राभल खोल्न ल्याउने हो की रोल्पा, रुकुम, कर्णाली लगायतका निकट क्षेत्रमा लगानी आकर्षित गर्न हो । काठमाडौं लगायतका शहरी क्षेत्रमा २ करोडको प्रतिफल कम होला त्यसले रोजगारी सृजना र आर्थिक विकासमा खासै योग्दान गर्न नसक्ला तर ग्रामिण भेगमा त्यो लगानीले अर्थतन्त्रमा ठूलो आयाम ल्याउन सक्छ र रोजगारी सृजना गर्नसक्छ । त्यसकारण सरकारले यसबारे कार्यविधि बनाएर लगानीलाई विविधिकरण गर्न जरुरी छ ।

हाम्रो मुलुकमा लगानीको ठूलो सम्भावना छ । उद्योग, पर्यटन, सिमेन्ट, खानीलगायत थुप्रै क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिने सम्भावनाहरु छन् । तर त्यसका लागि केही नीतिगत र प्रक्रियागत सुधार आवश्यक छ । यहाँको मुख्य समस्या भनेको अस्थिर राजनीति, नीतिगत अस्थिरता, प्रशासनिक झन्झट र नीति–नियमको प्रभावकारी कार्यान्वयन नहुनु नै हो । आजको दिनमा मैले विदेशको कुनै मुलुकमा लगानी गर्ने अवसर पाएभने पनि पहिलो हेर्ने भनेको त्यहाँको राजनीतिक स्थायीत्व नै हो । जहाँ राजनीतिक स्थायीत्व हुँदैन त्यहाँको लगानीको प्रतिफल पनि राम्रो हुँदैन । त्यसकारण लगानी आकर्षित गर्न सबैभन्दा पहिला मुलुकमा स्थायी सरकार आवश्यक छ । त्यसपछि १०–१५ वर्षको दीर्घकालिन योजना बनाएर काम गर्ने हो भने मुलुकमा वैदेशिक लगानी भित्र्ने अथाह सम्भावन छ । त्यसले मुलुकको आर्थिक विकास र समृद्धिका ठूलो टेवा पु¥याउने छ ।

प्रकाशित मिति:     ३१ आश्विन २०७९, सोमबार  |    Himali Khabar