बेलायतमा आज राष्ट्रिय जनगणना , नेपालीलाई पनि सहभागी बन्न आग्रह

बेलायतमा आज राष्ट्रिय जनगणना , नेपालीलाई पनि सहभागी बन्न आग्रह

काठमाडौं, ८ चैत । संयुक्त अधिराज्य (बेलायत)का चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा हुन गइरहेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको अधिकाधिक सहभागिता जनाउन बेलायतमा क्रियाशील नेपाली सङ्घसंस्था सक्रिय भएका छन् । बेलायतमा आइतबार जनगणना सुरु हुँदैछ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान क्षेत्रमा प्राध्यापनरत डा. कृष्ण अधिकारीले अहिले जनगणना राष्ट्रिय चाडका रूपमा आएको बताए । यहाँ रहेका नेपालीलाई एकताबद्ध बनाउने माध्यम बनेको जनगणनाले नेपाली समुदायको सशक्तीकरणमा पनि टेवा पुर्याउने उनले बताए ।

समुदायको सङ्ख्या धेरै भएपछि राष्ट्रिय तथा स्थानीय तहबाट निर्माण हुने योजना नेपालीको मागअनुसार बनाइन्छन् भन्दै स्थानीय सरकारबाट प्रदान गरिने सेवासुविधा आफ्नै भाषामा प्राप्त हुने बताए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके, इङ्ल्यान्ड राज्य समन्वय परिषद्का अध्यक्ष दीपक श्रेष्ठले जातिय पहिचानको महलमा नेपाली लेख्ने सहमति भएको जानकारी दिँदै जनगणनामा कोही पनि नछुटुन् भनेर हेल्पलाइन पनि सञ्चालन गरिएको बताए । कोरोनाका कारण घरदैलो नगरिए पनि घरमै बसेर अनलाइनमार्फत फाराम भर्न सजिलो हुने भएकाले यसपटक नेपालीको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

पछिल्लो जनगणनामा इङ्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा एक हजार २६८ जना नेपालीले नाम लेखाएको सरकारी तथ्याङ्क छ । यो सङ्ख्या अहिले दोब्बर बढ्नसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति:     ८ चैत्र २०७७, आईतवार  |    Himali Khabar