वैदेशिक रोजगारीमा जाने घट्दापनि रेमिट्यान्स ११ प्रतिशतले वृद्धि

वैदेशिक रोजगारीमा जाने घट्दापनि रेमिट्यान्स ११ प्रतिशतले वृद्धि

काठमाडौं, ४ चैत । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको सात महिनामा कूल पाँच खर्ब ६७ अर्ब ७० करोड रुपैयाँबराबरको विप्रेषण भित्रिएको छ ।

बैंकका अनुसार विप्रेषण आप्रवाहमा १०.९ प्रतिशतले वृद्धि भएको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु ६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो । यस्तै, खुद सेवा आय रु ३२ अर्ब तीन करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु तीन अर्ब आठ करोडले घाटामा रहेको थियो ।

प्रकाशित मिति:     ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar