बैंकहरुको कर्जा प्रवाहमा वृद्धि

बैंकहरुको कर्जा प्रवाहमा वृद्धि

काठमाडौं, १६ फागुन । पछिल्लो समय बैंकहरूको कर्जा वृद्धि उल्लेख्य रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनको पहिलो सातासम्म ४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा प्रवाह २ खर्ब ६८ अर्ब रुपैयाँ थियो । गत वर्षको चैतदेखि कोभिड–१९ महामारीको संक्रमण फैलन नदिन बन्दाबन्दी गरेपछि आर्थिक क्रियाकलाप सुस्त भएसँगै कर्जा प्रवाह घटेको थियो । तर असोजयता भने कर्जा प्रवाह बढेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । कर्जा प्रवाह बढेसँगै निक्षेप र कर्जाको तुलनामा स्रोत अनुपात अहिले ७६.०१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले अहिले यो अनुपात ८५ प्रतिशतभित्र राख्नुपर्ने व्यवस्था गरेको छ । यसअघि स्रोतको ८० प्रतिशतसम्म मात्र कर्जा दिन पाइने व्यवस्था थियो ।

अहिले बैंकहरूसँग अधिक तरलता १ सय अर्ब रुपैयाँभन्दा कम रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६० प्रतिशतले बढ्नु उत्साहजनक भएको भट्टले बताए ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar