हिमालयन बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

हिमालयन बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा शुक्रबार र पाख्रिवास नगरपालिकामा शनिबार वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

सो वित्तीय साक्षरता कार्यक्रम बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेका थिए ।
बैंकको यस कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी करिब ७० जनाको उपस्थिति रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा जानकारी दिइएको थियो ।

मादी नगरपालिकामा आयोजना गरेको कार्यक्रममा मादी नगरपालिकाका मेयर जिवन कुमार लिंग्थेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ्ग प्रमुख अतिथिका रुपमा थिए । यसै गरी बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:     २८ मंसिर २०७९, बुधबार  |    Himali Khabar