हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जरमा जादा अध्यक्ष छाड्ने तर सिईओ नछाड्ने

हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जरमा जादा अध्यक्ष छाड्ने तर सिईओ नछाड्ने

काठमाडौं, १ चैत । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर चर्चा भइरहँदा पछिल्लो समय यी दुई बैंकहरुबीच छलफल अघि बढेको छ। प्रारम्भिक रूपमा सम्पत्ति तथा दायित्वको मूल्यांकन अध्ययन भएपछि अहिले कुन ढंगबाट मर्जको प्रक्रिया सुरु गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको हो।

अध्ययनले यी दुवै बैंकको सेयर मूल्य फरक देखाउन स्वाप रेसियो अनुपात १ बराबर १ को रूपमा रहने सम्भावना देखाएको छ। यहीअनुसार अहिले दुवै बैंकहरुबीचको निरन्तर छलफल भइरहेको छ।

यस्तै बैंकको नेतृत्व इन्भेष्टमेन्ट बैंकलाई दिने र व्यवस्थापनतर्फको नेतृत्व हिमालयन बैंकको तर्फबाट हुने गरी अहिले हिमालयन बैंकले प्रस्ताव गरेको स्रोतले जनाएको छ। यसअनुसार मर्जरपछि हिमालयन बैंकका सीईओ अशोक राणा सीईओमा नै कायम रहने र बैंकको अध्यक्ष भने इन्भेष्टमेन्टका पृथ्वी बहादुर पाण्डेले गर्ने प्रस्ताव भएको हो।

तर अहिलेसम्म पनि बैंकको नामको विषयमा भने छलफल नै हुनसकिरहेको छैन। यद्यपि अहिलेको अवस्थामा नै छलफल अघि बढेको खण्डमा भने चैतको मध्यतिर मर्जरसम्बन्धी सुखद समाचार बाहिर आउने ती सञ्चालक बताउँछन्। मर्जरमा गयो भने नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक नै यही हुनेछ।

प्रकाशित मिति:     १ चैत्र २०७७, आईतवार  |    Himali Khabar