पूर्व उद्योगराज्यमन्त्री दुगडविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

पूर्व उद्योगराज्यमन्त्री दुगडविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र व्यवसायी मोतिलाल दुगडलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी परेको छ। राष्ट्रिय उपभोक्ता मञ्चले दुगडको कम्पनीले कानुनी विपरीत नुनको कारोबार गर्दै आएकाले हदैसम्मको कारबाही माग गर्दै कार्यालयमा उजुरी गरेको हो।

‘व्यापारिक मलहरूमा दुगड स्पाइसेस एन्ड फुड प्रोडक्टस प्रालि, टंकीसिनवारी, मोरङबाट उत्पादित सेन्चुरी स्प्रिंकल टेबल साल्ट नामक आयोडिनयुक्त नुनप्रति १०० ग्राम ३५ रुपैयाँ बिक्री मूल्य राखी ३२ रुपैयाँमा बिक्रीवितरण भइरहेका पाइएको भन्दै तत्काल छानबिन गरी कारबाहीको दायरमा ल्याउनुपर्ने उजुरीमा उल्लेख छ।

प्रति सय ग्रामको ३५ रुपैयाँ उल्लेख भएको नून ३२ रुपैयाँमा बिक्रीवितरण गरेको पाइएको व्यहोरा अनुरोध गर्दै यसअघि आवश्यक अनुगमन र नियमनको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गत वर्ष नै उजुरी दिए पनि विभागले कुनै कारबाही नगरेको उजुरीमा उल्लेख छ। छानबिन गरी दुगडमाथि कारबाही चलाउनुको साटो उल्टै राज्य संयन्त्रले ठगी गर्न दुगडलाई सहयोग गरेको आरोप उजुरीमा लगाइएको छ।

प्रकाशित मिति:     २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar