काठमाडौं । आर्थिक वर्ष २०७८-०७९ सुरु हुन अझै बाँकी छ । तर, अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनका लागि बुधबार कार्यसम्पादन सम्झौता गरेको छ ।
अर्थ मन्त्रालयसँग सम्बन्धित कार्यसम्पादन सम्झौतामा अर्थमन्त्री विष्णु पौडेलसँग अर्थ सचिव, राजस्व सचिव, महालेखा नियन्त्रक तथा सचिवसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरुले कार्य सम्झौता सम्झौता हस्ताक्षर गरेका छन्
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् ।
सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउने सकिने भन्दै उनले बजेट कार्यान्वयन हुँदैन भन्ने विगतका मानसिकतामा परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पौडेलले आगामी वर्षको बजेटले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गरे । उनले कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ–आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताए । उनले कार्य सम्पादन सम्झौताले अनुगमन गर्न पनि सहज बनाएको धारणा व्यक्त गरे ।