काठमाडौं । सर्वोच्च अदालतले रूपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलाएको छ। सञ्चारकर्मी सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै पदबाट हटाइ उनी विरूद्धको जाहेरी दर्ता गर्न माग गर्दै दिएको रिटमा बहस गर्न दुवै पक्षलाई बोलाएको हो।
न्यायाधीश कुमार रेग्मीको इजलासले यो मुद्दामा अग्राधिकार दिएर पेशी तोक्न र विपक्षीलाई १५ दिन भित्र लिखित जवाफ बुझाउन भनेको छ। अदालतबाट म्याद थप भई अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाले माग गरेकी छन्।