काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलब ७ प्रतिशतमा रहने प्रक्षेपण गरेको छ । एडीबीले गएको अप्रिलमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।
एडीबीले बुधवार ‘एशियन डेभलपमेन्ट आउटलुक २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ।
एशियाली विकास बैंक आउटलुकका अनुसार आयातमा वृद्धि, विदेशी विनिमय सञ्चितिमा उल्लेखनीय गिरावट र मुद्रास्फीतिको दबाबले गर्दा कमि आएको छ ।
आन्तरिक माग, बढ्दो मूल्य र बढ्दो आयातलाई नियन्त्रण गर्न उच्च कर्जा वृद्धिलाई रोक्ने उद्देश्यले मौद्रिक नीति संकुचनात्मक रहेको एडीबीको प्रक्षेपण छ।