महाकालीमा पानीको बहाव ८ वर्ष यताकै उच्च

महाकालीमा पानीको बहाव ८ वर्ष यताकै उच्च

काठमाडौं । महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । पानीको बहाव बढेसँगै आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ ।

भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करिब ९० मिटर अस्थायी बाँध बाढीले बगाएको हो । त्यसैगरी दोधरा–चाँदनी र भीमदत्त नगरपालिकाका बस्तीहरुसमेत डुवानमा परेका छन् । महाकाली नदीमा पानीको बहावसँगै जोगबुढा खोला थुनिँदा दोधरा–चाँदनी नगरपालिकास्थित कुतियाकबर र शान्ति टोलका घरहरु डुवानमा परेका हुन् ।

बाढीका कारण भीमदत्त नगरपालिका १२ ऐरीमा झण्डै १२ घरहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले महाकाली नदीमा पानीको बहाव घट्ने बढ्ने क्रम जारी रहेकाले बस्तीहरु डुवानमा पर्ने खतरा बढेको जनाएको छ । जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले आज बिहान महाकाली नदीको पानीको बहाव २ लाख १३ हजार क्यूसेक रहेको जनाएको छ । अहिले पानीको बहाव बढेर २ लाख ४७ हजार क्यूसेक पुगेको छ ।

प्रकाशित मिति:     ६ असार २०७८, आईतवार  |    Himali Khabar