ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

काठमाडौं । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ। प्रहरी चौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।

तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक आइतबार फेला परेको उनले बताए। प्रहरीले भरुवा बन्दुकसहित स्थानीयलाई विभिन्न समयमा पक्राउ गर्दै आएपछि डराएर ओढारमा लगेर भरुवा बन्दुक लुकाउन थालेको प्रहरीको भनाइ छ।

ओढारमा भरुवा बन्दुक लुकाइछिपाई राख्नेका बारेमा थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:     ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar