छाब्दीखोला पुल बगायो, छिर्कनेमा घर पुरियो

छाब्दीखोला पुल बगायो, छिर्कनेमा घर पुरियो

दमौली । अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्‍दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङ्‍दी नदीले जलसतह सतर्कता पार गरेको हो ।

पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ ।

अविरल वर्षासँगै आएको बाढीले व्यास १ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो । मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिए ।

यस्तै अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका १२ छिर्कनेमा एक घर पुरिएको छ । बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो ।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar