बागमती प्रदेशले ल्यायो एग्रिगेटर सूचना बैंक

बागमती प्रदेशले ल्यायो एग्रिगेटर सूचना बैंक

हेटौँडा । बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ । सूचना बैंकको शुक्रबार आन्तरिक मामिला तथा कानूनमन्त्री अजयक्रान्ति शाक्यले हेटौँडामा उद्घाटन गरेका छन् ।

उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री शाक्यले बागमती प्रदेशको सूचना बैंकमा अब प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने जानकारी दिए ।

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एग्रिगेटर सूचना बैंक सञ्चालनमा ल्याइएको हो । मन्त्री शाक्यले नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैठक सञ्चालनमा आउनु गर्वको विषय भएको बताए ।

१४ वटा कार्यालयको सूचना अब सूचना बैंकमा आउनेछ । बागमती प्रदेशका ११९ वटै स्थानीय तहका सूचना आउने सक्ने गरी यसको विकास गरिने जनाइएको छ । मन्त्री शाक्यले मन्त्रालयले बागमती प्रदेशका सबै ऐन कानून एपमा राखेर चाँडै ल्याउने गृहकार्य गरिरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति:     २३ आश्विन २०७८, शनिबार  |    Himali Khabar