नुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका नेता शिव अधिकारी “अविरल” ले युवाहरुलाई समेटेर तार्केश्वरको विकासका लागि सामाजिक अभियान चलाउन खोज्नुलाई अतिरन्जित नगर्न आग्रह गरेका छन । विकासका अभियानमा युवाहरुको सहभागिता र अपनत्वलाई अझै वृद्धि गर्दै आफुहरुको पहलकदमीलाई प्रभावकारी बनाउने र स्थानीय सरकारसँग सामूहिक रुपमा सहकार्य र खबरदारी गर्ने उद्देश्यले तारकेश्वरको विकासको सारथि बन्ने अभियानका रुपमा तारकेश्वर डेभलपमेन्ट फोर्स गठन गरेको प्रष्टपार्दै उनले त्यसबारे अनावश्यक प्रचार नगर्न आग्रह गरेका हुन ।
उनले फोर्स कुनै पार्टीकोे भ्रातृ, सुभेच्छुक संस्था र समानान्तर कमिटी नभएको भन्दै केवल सामाजिक अभियान भएको बताए । यसले विशुद्ध विकास र समाजसेवाका कार्यमा सहकार्य गर्ने उनको भनाइ छ ।
नेता अधिकारीले आफ्नो यो अभियानले पार्टीलाई कुनै नोक्सानी पुर्याउँछ भने प्रमाणित हुन्छ भने आजै यो अभियान बन्द गर्न तयार रहेको पनि बताएका छन् । अन्यथा कसैको कुत्सित मनसायमा ठेस लाग्ला भन्ने हीन मनोभावले ग्रसित भएर पार्टीका जिम्मेवार साथीहरुलाई वक्तव्यबाजी गर्न दबाब दिने र साथीहरुलाई अनाहकमा धम्क्याउने कार्य कदापि सह्य नहुने बताए ।
“हामी नेपाली कांग्रेसका सिपाही हौँ । हामीले राजनीतिक वा गैरराजनीतिक रुपमै पनि केही राम्रो गर्न सक्यौँ भने त्यसले पार्टीलाई प्रत्यक्ष वा परोक्ष रुपमा फाइदै पुर्याउनेछ ।” उनले सामाजिक संजाल मार्फत भनेका छन, “हामीले आजसम्म पार्टीलाई घाटा पुग्ने वा पार्टीको नाम दुरुपयोग हुनेगरी कुनै काम गरेको छैनौँ, र गर्ने पनि छैनौँ । हाम्रो नेतृत्वमा हुने सामाजिक सेवाकर्मले पार्टीका साथीहरुलाई थप जागरुक गर्नेछ र अन्य स्वतन्त्र युवाहरुलाई समेत पार्टीप्रति आकर्षित गर्नेछ भन्ने हाम्रो विश्वास हो । तर, हामी पार्टीका लागि मात्रै समाजसेवा गरिरहेका छौँ भन्ने पनि होइन, हामी समग्र तारकेश्वरको विकास र सेवामा समर्पित छौँ ।”
फोर्समा आबद्ध भएका र हुन लागेका साथीहरुलाई कुनै भ्रममा नपर्न र नडराइकन आफ्नो कर्ममा अघि बढ्नपनि उनले विशेष आग्रह गरे । “कुनै पनि दलले आफ्ना कार्यकर्तालाई समाजसेवामा लाग्नबाट वञ्चित गर्दैन । अझ नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक समाजवादी पार्टीले त त्यो कल्पना पनि गर्न सक्दैन । विकास र सेवा त पार्टीको नीति नै हो । हामी पार्टीको मर्म र भावनाकै पक्षमा अघि बढ्दै छौँ । त्यसैले, यसमा कत्ति पनि डराउनुपर्ने वा बिचलित हुनपर्ने अवस्था छैन ।” उनले प्रष्ट पारेका छ्न ।
उनले केहिदिन यता तार्केश्वरका सबै वडाका नेपाली काङ्ग्रेस संबद्ध युवाहरूलाई समेटेर फोर्स गठन गरिरहेका छन् । फोर्समा सहभागी हुनेहरुको संख्या दैनिक बढ्दै छ ।