कोरोना संक्रमणको उच्च जोखिममा सफाइकर्मी, तत्काल खोप व्यवस्था गर्न माग

कोरोना संक्रमणको उच्च जोखिममा सफाइकर्मी, तत्काल खोप व्यवस्था गर्न माग

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गएको वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका अधिकांश मानिसहरु घरभित्रै थुनिएका छन् । अत्यावश्यक सेवा बाहेकका सबै सवारी, व्यापार व्यवसाय, स्कुल, कलेज, अफिसहरू पनि बन्द छन् । तर उपत्यकामा फोहोरमैला संकलन गर्ने सफाईकर्मीलाई भने यस्तो बेला पनि चटारो छ । बिहानै उनीहरु घरघर पुगेर फोहोर संकलन गरिरहेका छन् । कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको बेला उनीहरुमा संक्रमणको जोखिम निकै छ । तर पनि सफाई कार्य एकदिन पनि प्रभावित भएको छैन् ।
जोखिमकाबीच काम गरिरहेका उनीहरुलाई तत्काल खोप व्यवस्थापन गर्ने विषयमा सरकारले खासै चासो देखाएको छैन् ।


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खोप व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए । हिमाली खबरसँगको कुराकानीमा उनले महामारीको बेला पनि सफाईकर्मीहरु निरन्तर कार्यक्षेत्रमा रहेको र उनीहरुलाई जोखिम रहेको भन्दै महानरपालिकाले छिटै खोपको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाए ।

महामारीको यो बेला पनि निरन्तर काम भइरहेको फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्यले जानकारी दिए । कम्पनी आफैले स्वास्थ्य उपकरणहरु उपलब्ध गराएर फोहोर संकलनको काम भइरहेको तर जोखिम निकै रहेको भन्दै तत्काल खोपको प्रवन्ध गर्न महानगरसँग उनले आग्रह गरे ।

हाल उपत्यकामा २५ सय सफाईकर्मी छन् । त्यसमध्ये हालसम्म ६० जना कोरोना संक्रमति भएको संघको तथ्यांक छ । विभिन्न वडाहरुसँग समन्वय गरेर ५ सय जतिले खोप लगाएपनि २ हजारभन्दा बढी खोप लगाउन बाँकी रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

उनीहरुले यो संक्रमणको बेला पनि फोहोर उठाउँदा काठमाडौं दूगिन्धत हुनबाट छ बचेको छ । तर जोखिम निकै छ ।

सफाइकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) ,मास्क, पञ्जा, बूट, एप्रोन, स्यानिटाइजर लगायतका सामाग्री उपलब्ध गराएर काम गरिहरेको कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.का अध्यक्ष रमेश नेवाले बताए । संकटको यो अवस्थामा यस क्षेत्रमा काम गर्नेलाई थप मनोबल दिनुपर्ने भन्दै उनले सरकारले तत्काल कोरोना विरुद्धको खोपको व्यवस्था गरि सफाईकर्मीलाई सुरक्षित महसुश गराउनुपर्ने माग गरे । स्थानीय तह मार्फत कम्पनीले पनि खोप व्यवस्थापनका लागि पटक–पटक माग गरेपनि कुनै सुनुवाई नभएको अध्यक्ष नेवाको गुनासो छ ।

प्रकाशित मिति:     २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar