नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नं ६ भौसीकाट्ने चौरमा खेलकुद मैदान निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट नगरपालिकाले सडक आयोजनामा हाल्न लागेको पाइएको छ । गत आइतबार नगरपालिकाले वागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई पत्राचार गर्दै खेलकुद मैदान निर्माणका लागि कठिनाई भएको र आयोजना सम्झौता गर्न नसकिएको भन्दै रकम ठुलोखोला भगेरी बेतपानी सडक आयोजनामा कायम गरिदिन आग्रह गरेको छ ।

खेलकुद मैदान निर्माणका लागि गत माघमा नै नेपाली कांग्रेसका नेता इन्द्रबहादुर लामाको अध्यक्षतमा निर्माण उपभोक्ता समिति गठन गरिएको छ । तर नगरपालिकाले समितिसँग अझै पनि निर्माण सम्झौता नगरेपछि केही दिन अघि मात्र स्थानीयले नगरपालिका घेर्नुका साथै तालाबन्दी गरेका थिए । खेलकुदको रकम खेलकुदमै लगाउनुपर्ने स्थानीयको माग छ ।
उक्त खेलकुदमैदान निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ । खेलकुदलाई आएको रकम खेलमैदान निर्माण गर्ने सम्भावना हुँदा हुँदै अन्यत्र रकमान्तर गर्न खोज्नु स्थानीय खेलप्रेमीको लागि ठूलो धोका हुने अध्यक्ष लामाले बताए ।
नगरप्रमुख राजेन्द्ररमण खनालले उपभोक्ता समितिमा राजनीतिक उपस्थितलाई हतियार बनाएर विकास निर्माणमा रोक लगाएको आरोप उनको छ । निर्माण सुरु गर्न समितिले पटक पटक सम्झौता गर्न आग्रह गर्दा पनि प्रमुखले विभिन्न बहाना बनाउँदै आएको गुनासो छ ।