काठमाडौं । विघटित प्रतिनिधि सभा सांसद जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिका वडा नं १५ का अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डंगोलको पहलमा काठमाडौंको स्वयम्भुस्थित आनन्द कुटीमा सञ्चालित सुविधासम्पन्न आइसोलेसन सेन्टरलाई कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.ले पनि आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीका अध्यक्ष रमेश नेवा र व्यवस्थापक रामेश्वर पोखरेलले आज संयुक्तरुपमा श्रेष्ठ र डंगोललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
गरिब, दुखि र असहायहरुका लागि सहयोग गर्ने उद्धेश्यले सांसद श्रेष्ठ र वडा अध्यक्ष डंगोलले निकै सहार्निय काम गर्नुभएको भन्दै अध्यक्ष नेवाले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केही रकम सहयोग गरेको जानकारी दिए ।
गत जेठ २ गतेबाट सञ्चालनमा आएको आइसोलेसन सेन्टरमा अहिले १६ जना कोभिडका बिरामी रहेका छन् । हालसम्म ८३ जनाले यहाँबाट सेवा लिइसकेका छन् । आफूहरुको कार्यक्षेत्रमा भएको यो कार्यलाई थप व्यवस्थित बनाउन केही सहयोग गरेको कम्पनीका व्यवस्थापक रामेश्वर पोखरेलले जानकारी दिए । कान्तिपुर सिसडोल वातावरण सेवाले झन्डै दुई दशकदेखि महानगरपालिकाको १३, १४ र १५ नम्बर वडामा सरसफाईको काम गर्दै आएको छ।

यो सेन्टरमा रहेका बिरामीलाई दिनमा ४ पटक खाना, आवश्यक औषधि निःशुल्क सेवा उपलब्ध गराइएको छ । आइसोलेसनमा बसेकाहरूलाई योगा समेत सिकाइन्छ । संक्रमितहरुको रेखदेखका लागि जनसरोकार स्वास्थ्य ट्रस्टका नर्सहरु खटिएका छन् । त्यस्तै आइसोलेसन सेन्टरबाट निस्केको फोहोरलाई अटो क्लिप गरेर निसंक्रमण गरी कुहिने र नकुहिने छुट्याएर प्याकिङ गरेर व्यवस्थापन गर्ने गरिएको छ ।