धरानमा भदौ ४ गतेदेखि पूर्ण लकडाउन

धरानमा भदौ ४ गतेदेखि पूर्ण लकडाउन

धरान । धरान उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा मंगलवार बसेको कार्यपालिका बैठकले धरानमा समुदायस्तरमै फैलिरहेको कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भदौ ४ देखि १३ गतेसम्म कडाइका साथ लकडाउन गने निर्णय गरेको हो ।

यसअघि धरानका राजनीतिक दलहरूले कोरोना संक्रमित र मृत्युदर बढेको भन्दै लकडाउन गर्न संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए । यस्तै, विज्ञहरूले समेत लकडाउन गर्न सुझाएका थिए । सोमवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको उपस्थितिमा आयोजना गरिएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा १० दिन लकडाउन गर्न सिफारिश गरेको थियो ।

प्रहरी प्रशासनसँगको समन्वयमा लकडाउन कडाइका साथ लागू गर्ने र यसको कार्यान्वयनका लागि सबै वडाका टोल विकास समितिहरू समेत परिचालन गर्ने निर्णय गरिएको छ । लकडाउनको समयमा औषधि, अत्यावश्यक खाद्यवस्तु र दुग्ध पदार्थ मात्र विक्रीवितरण गर्न पाइनेछ । यस्तै, प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने, पीसीआर टेष्ट, एन्टिजेन टेस्टको दायरा बढाउने, लकडाउन व्यवस्थापन गर्न वडा नं १४, १५, १६ र १७ का वडाध्यक्षहरू समेत रहनेगरी एक समन्वय समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति:     २ भाद्र २०७८, बुधबार  |    Himali Khabar