काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउनमा जान नहुने सुझाव सरकारलाई दिएको छ।
संक्रमण रोकथामका अरु विधिलाई प्रभावकारी बनाइनुपर्ने तर लकडाउनमा जान नहुने सुझाव आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।
शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणका लागि दलहरुको राय माग गरेका थिए। ‘हामीले लकडाउन भन्दा पनि कोरोना रोकथामका अरु उपायमा जानुपर्यो भनेर सुझाव दियौँ’, पौडेलले भने। उनले कोभिड–१९ को संक्रमण रोकथामका लागि गम्भीर बन्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।