काठमाडौं । पछिल्लो समय डिजल-पेट्रोलको मूल्यले नयाँ रेकर्ड कामय गर्ने क्रम चलिहरँदा यातायात व्यवसायीहरुले सार्वजनिक सवारीको भाडा बढाउन माग गर्न थालेका छन् । गत असारमा सार्वजनिक सवारीको भाडा बढाए यता डिजल-पेट्रोलको मूल्य प्रतिलिटिर १६ रुपैयाँले बढाइसकेको छ ।
लगातार डिजल-पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गर्न थालेका छन् ।
सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले फेरि पेट्रोलियमको मूल्य महंगिँदा लागत उठाउन मुस्किल हुन थालिसकेको बताए । गत असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए ।
स्थानीय स्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाउने निर्णय सम्बन्धित प्रदेश र स्थानीय तहले नै निर्णय गरिरहेका छन् ।