काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सँग आवद्ध पर्यटन व्यवसायी संगठन नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई पर्यटन क्षेत्र सुधारका लागि २१ बुदे सुझाव बुझाएको छ। संगठनका अध्यक्ष अञ्जन थापा (कुमार) सहितको टोलीले मन्त्री आलेलाई भेटी उक्त सुझाव बुझाएका हुन ।
उनीहरुले देशमा कोभिड नियन्त्रण भई पर्यटक आउने वातारण बनेकाले पर्यटन बोर्ड मार्फत धेरै भन्दा धेरै प्रचार गर्नुपर्ने, नेपाल वायुसेवा निगमको सुधार गर्दै नयाँ रुट लिन पहल गर्नुका साथै युरोपेलि युनियनको कालोसूचीबाट हटाउन प्रयास गर्नुपर्ने, विमानस्थलको सुधार र स्तरोन्नतीका लागि एडिबीबाट आएको सहयोगलाई सहि तरिकाले परिचालन गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।
यस्तै निम्न तथा मझौला पर्यटन व्यवसायीहरुको पुनरुत्थानका लागि बिना धितो २५ लाखसम्मको कम्पनीको कागजातको आधारमा सहुलियत कर्जा उपलब्ध गराउन पहल गर्नुपर्ने, सबै प्रकारका कम्पनीहरु ५ वर्ष चलेपछि एउटा प्राइभेट साना चार पांग्रे गाडी पूर्णरुपमा भन्सार राजस्व छुटमा चल्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने, नेपाल आउने पर्यटकलाई एक वर्षसम्मको लागि भिषा शूल्क र टिकटमा सहजिकरण गर्नुपर्ने, ट्रेकिङ र पर्वतारोहण जादा अनिवार्य सहयोगी गाइड लाने व्यवस्था गर्नुपर्ने, ट्रेकिङ गाइड, भरियाहरु होटेल तथा रेष्टुरेन्ट मजदुरहरुलाई सरकारी तवरबाट छुटै राहतको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव पेश गरेका छन् ।


