जहाजको यान्त्रिक अवस्था अध्ययन गर्न सरकारले बनायो समिति

जहाजको यान्त्रिक अवस्था अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रहेका जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने छ ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव तोकिएका छन् । यो समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेको बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको समेत पुनरावलोकन गर्ने जिम्मेवारी पाएको छ ।

प्रकाशित मिति:     १३ आश्विन २०७८, बुधबार  |    Himali Khabar