अब कम्तीमा ६ महिना नेपाल आउने पर्यटकलाई भिसा फ्रि गर्नुपर्छ : पौडेल

अब कम्तीमा ६ महिना नेपाल आउने पर्यटकलाई भिसा फ्रि गर्नुपर्छ : पौडेल

बरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी तेजेन्द्र शर्मा पौडेल गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष हुन । तीन दशकदेखि पर्यटनमा क्रियाशिल शर्माले एशियन नेपाल होलिडे प्रालि, एक्रोस वल्र्ड ट्राभल्स प्रालि सन्चालन गरिरहेका छन् । योसँगै उनी युक्रेनको कन्सुल एवम् मानव तथा सामाजिक सेवामा क्रियाशिल संस्था यूएन पिकेएफसीको बरिष्ठ सल्लाहकार समेत हुन । योबीचमा उनले दर्जनौ स्वदेशी एवम् विदेशी अवार्डहरु समेत पाइसकेका छन् । पर्यटनमा निकै अनुभवी शर्मासँग सरकारले विदेशी पर्यटकलाई नेपाल आगमन सहज बनाएसँगै नेपालको पर्यटन कसरी अघि बढ्छ भन्नेबारे गरिएको हिमाली खबरले गरेको छोटो कुराकानी :

१) सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको छ, अव पर्यटक आगमन कस्तो रहला भन्ने अपेक्षा गर्नुभाछ ?

कोरोना भाइरस भित्रिएसँगै २०७६ फागुनदेखि नेपालमा पर्यटक भिसा बन्द थियो। तर केही दिन अघिको मन्त्रीपरिषद् बैठकले महामारीअघि खुला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ । यससँगै अब विस्तारै पर्यटकको संख्या बढ्ने अनुमान छ। जसकारण हामी उत्साहि नै छौ ।

योसँगै सरकारले पूरा डोज खोप लगाएकाहरूले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेको छ। व्यवसायीले खोपको मात्रा पूरा गरेकाहरूका हकमा क्वारेन्टाइनको व्यवस्था हटाउन माग गर्दै आएका नै थियौ । खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण र हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट भने अनिवार्य गरिएको छ। यसले विश्व बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

२) सरकारले पर्यटक आगमनलाई खुला गरेपनि नेपालमा कोरोना संक्रमण देखिरहेकै छ, अर्को तर्फ सबै नागरिकलाई खोप लगाउन पनि सकिएको छैन यो अवस्थामा पर्यटक आइहाल्ने अवस्था बन्छ र ?

अहिले संसारको अर्थतन्त्र अस्तव्यस्त नै छ । विदेशमा पनि कोरोना संक्रमण नियन्त्रमा आइसकेको छैन् । जसको प्रभाव स्वरुप विभिन्न देशमा नागरिकहरुले आफ्नो रोजगारी गुमाएका छन् । उद्यम, व्यवसाय गर्नेहरुको पनि कतिको बन्द भएको होला कतिको राम्रोसँग चल्न सकेको छैन् । यो अवस्थामा तपाईले भनेजस्तै नेपालमा पनि संक्रमण नियन्त्रण पनि भइसकेको छैन । उनीहरुले पनि घुम्न निस्कनका लागि विभिन्न चाजोपाजो मिलाउनुपर्ने होला । तर यो अवस्थामा पनि धेरै पर्यटक नेपाल आउन चाहन्छ भन्ने हाम्रो बुझाई छ । त्यसको उदाहरण त पछिल्लो समय पर्वतारोहणमा देखिएको आकर्षणले पनि प्रष्ट पार्छ नि होइन र ? यो अवस्थामा नेपाल भ्रमणका लागि खुला गरेर, नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सक्यौ भने पनि उनीहरु नेपाल आउछन । र, यो संख्या विस्तारै बढ्दै जान्छ भन्ने हाम्रो अनुमान हो । नेपाल भ्रमणका लागि खुला छ भन्दैमा ह्वारह्वारती पर्यटक आउछन् भन्ने होइन । आउने क्रम सुरु हुन्छ । योबीचमा सरकारले सबै नागरिकलाई खोप लगाउन सक्यो भने त्यसबाट थप सकारात्मक सन्देश अन्तरास्ट्रिय बजारमा प्रवाह हुन्छ ।

३) यो अवस्थामा हामीले पर्यटक आर्षित गर्न छुट, सहुलियत पनि त दिनसक्छौ नी होइन ?

हो, मेरो जोड नै यही कुरामा हो । प्रकोपबाट आतंकित भएर विश्व समुदाय नयाँ परिवेशम प्रवेश गर्दैछ । यो अवस्थामा नयाँ कार्यक्रम र प्याकेज ल्याएर हामीले पर्यटक आकर्षित गर्न सक्नुपर्छ ।
प्यकेजमा पनि छूट, सहुलियत उपलब्ध गराउनु पर्छ । अर्को हामीले गर्नैपर्ने महत्वपूर्ण कुरा भनेको अब सरकाले भिसा प्रक्रियालाई सहज बनाउनुपर्छ । डेढ, दुई वर्षसम्म पर्यटक आगमन प्रभावित हुँदा त चित्त बुझाएका थियौ भने अबको ६ महिना नेपाल घुम्न आउने पर्यटकलाई भिसा फ्रि गर्दा के बिग्रन्छ । यसले पर्यटकलाई आकर्षित नै गर्छ ।

६-८ महिनापछि पुरानै व्यवस्था लागू गर्दा भइहाल्यो , यो गर्दा विश्व बजारमा नेपालबारे छुटै सकारात्मक सन्देश जान्छ । र, मलाई लाग्छ संसारभरका मानिस नेपाल आउन इच्छुक छन् उनीहरुलाई यसले नेपाल आउन प्रेरित गर्छ । सरकारले तत्काल यो निर्णय गरेर नेपालको पर्यटनमा नयाँ आयाम थप्नुपर्छ ।

४) उसो भए सरकारको पछिल्लो कदमबाट पर्यटन अब विस्तारै लयमा फर्कन्छ भन्नेमा तपाईहरु ढुक्क हुनुहुन्छ हैन त ?
नेपालको पर्यटन क्षेत्रले यसअघि पनि धेरै अप्ठ्यारा अवस्थाहरु पार गर्दै यो अवस्थासम्म आइपुगेको हो । योबीचमा मुलुकमा के-के भए, पर्यटन क्षेत्रको अवस्था कस्तो थियो । र, कुन अवस्थामा पुगेका थियौ त्यो घाम जस्तै छर्लङ छ । अब एकै पटक कोरोनाले यो अवस्था ल्याईदियो । त्यसलाई सामना गर्नुको विकल्प छैन् । हामीले हार मानेका छैनौ । अबको केहि वर्षभित्रमा नेपालको पर्यटन लयमा फर्कन्छ । तर, त्यसका लागि हामीले केही नयाँ दिन सक्नुपर्छ । नयाँ गन्तव्यहरुको पहिचान र तिनीहरुको प्रचार -प्रसार गर्नुपर्छ । अघि मैले भनेजस्तै सहुलियत र छूट दिनुपर्छ । त्यो भन्दा महत्वपूर्ण हामीले सबै नागरिकलाई खोप लगाएर सुरक्षित गन्तव्यको रुपमा विश्वभर चिनाउन सक्नुपर्छ । त्यो गर्यौ भने यतिधेर सम्भावना भएको नेपालमा पर्यटक नआउने कुरै छैन् ।

५) अन्तमा
मैले भिजिट नेपाल १९९८ पर्यटन वर्ष २०११ पनि अनुभव गरे । भिजिट नेपाल २०२० को मूलआयोजक कमिटिको केन्द्रिय सदस्य नै रहेर काम गरे । त्यो जिम्मेवारीमा रहदा इन्डोनेसिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका मुलुकका पर्यटन मन्त्रीहरुसंग पनि भेटर्वार्ता गरे । म एउटा भिन्ने शैलीको पर्यटन विकासको अवधारण बोकेर हिडेको मान्छे । हाम्रा नेपाली दाजूभाई, दिदीबहिनीहरु पनि ति देशमा पर्यटक बनेर गएका छन् । त्यहाँका नागरिकहरु पनि नेपाल आएका छन् । यो अवस्थामा जिटूजी अर्थात गभरमेन्ट टू गभरमेन्ट पर्यटन समन्वय गरेर नयाँ परिवेशमा नयाँ प्याकेजहरु, गन्तव्यहरुको विकास गर्नुपर्छ भन्ने मान्यता छ।

त्यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य छ। सरकार र विभिन्न व्यवसायीक छाता संगठनबीच छलफल गरेर यो अवधारणमा अघि बढ्न सकेपनि नेपालको पर्यटन विकासमा ठूलो योग्दान पुग्नेछ ।

प्रकाशित मिति:     १३ आश्विन २०७८, बुधबार  |    Himali Khabar