कोरोनाका कारण रोकिएको अल्ट्रालाइट उडान सुरु

कोरोनाका कारण रोकिएको अल्ट्रालाइट उडान सुरु

पोखरा । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण बैशाखदेखि बन्द रहेको पोखराका अल्ट्रालाइट शुक्रबारदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना भाइरसको संक्रमण सुरु भएपछि दुई पटक गरी १२ महिना अल्ट्रालाइटको उडान बन्द भएको थियो।

यसअघि पोखरामा एभिया क्लब, फिस्टेल अल्ट्रालाइट, पोखरा अल्ट्रालाइट र हेलिएयर नेपालले अल्ट्रालाइट सञ्चालन गर्दै आएका थिए। अहिले पोखरा अल्ट्रालाइटले मात्र उडान सञ्चालन गरेको हो। शुक्रबार परीक्षणका रूपमा दुई वटा मात्र उडान भरिएको पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले बताए। संक्रमणको त्रास रहिरहेकाले विशेष स्वास्थ्य मापदण्ड अपनाएर अल्ट्रालाइट सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

पोखरामा सञ्चालित विभिन्न चारवटा कम्पनीसँग १६ वटा अल्ट्रालाइट जहाज रहेका छन्।पोखरामा हवाई उडान, सार्वजनिक यातायात सञ्चालन, होटल सञ्चालन हुन थालेपछि सुस्ताउँदो पर्यटन व्यवसायलाई उकास्नका लागि अल्ट्रालाइटको उडान सुरु गरिएको हो। नागरिक उड्डयन प्राधिकरण मातहत पोखरामा २५ वर्ष अगाडिदेखि अल्ट्रालाइट सञ्चालन हुँदै आएको छ।

प्रकाशित मिति:     ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar