काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा क्यापिटलको साधारण सभा सम्पन्न भएको हो ।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य प्रस्तुत गर्दै विगत वर्षका उपलब्धिहरू, सामना गरेका चुनौतीहरू र आगामी योजनाहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो । उहाँले कम्पनीले हासिल गरेको उपलब्धिलाई अर्को महत्वपूर्ण कोसेढुङ्गा भन्दै निकट भविष्यमा सेयरधनी मूल्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आर्थिक बर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण र चालू आर्थिक बर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति, नगद लाभांश वितरण तथा सञ्चालक निर्वाचनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।
संस्थापक समूहका शेयरधनीको तर्फबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीप्रकाश पाण्डे पुन: संचालकमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सञ्चालक समितिले चुक्ता पूँजीको ५ प्रतिशत अर्थात् रु. १ करोड ४३ लाख १६ हजार ९७५ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।
कार्यक्रममा अध्यक्ष न्यौपानेले सेयरधनी, माछापुच्छ्रे बैंक लिमिटेड, नियामक निकाय, लेखापरीक्षक, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मी, साझेदार संस्था र कर्मचारीहरूको निरन्तर सहयोग र योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि सबै पक्षको मार्गदर्शन र सहकार्यका साथ कम्पनी अझ मजबुत र सक्षम भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।