काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट शरद ओझालाई पदमुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई पदमुक्त गर्ने गरी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन आएलगत्तै सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
ओझाबारे छानबिन गर्न सरकारले असार ३० गते समिति बनाएको थियो । समितिले उनको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारीमाथि प्रश्न उठाउँदै समितिको प्रतिवेदन बनाएको थियो । समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य थिए । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः निलम्बनमा परेका थिए ।