काठमाडौं । गृह मन्त्रालयले ७७ जिल्लामध्ये ४६ जिल्लामा आउँदो जेठ ५ गतेसम्मलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको छ । तीमध्ये ३५ जिल्लामा पूर्ण र ११ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाउन निर्देशन दिइएको हो ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना सङ्क्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय नै हो ।
उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ । यसअघि जारी भएर सवारी पास पनि खारेज गरी निषेधाज्ञा कडा पारिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमण महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि यही वैशाख १६ गते राति १२ बजेदेखि २२ गते राति १२ बजेसम्म हप्ता दिनका लागि निषेधाज्ञा जारी गरेको थियो ।
खाद्यान्न, तरकारी र औषधिलगायतका वस्तु खरिद गर्न पनि दुई जनाभन्दा बढी व्यक्ति सहभागी नहुन र त्यसमा पनि कम्तीमा दुई मिटरको दूरी कायम राख्न निर्देशन दिइएको छ ।