३४ बुँदे मागसहित शिक्षकहरूको धर्नामा

३४ बुँदे मागसहित शिक्षकहरूको धर्नामा

काठमाडौं , १५ साउन । विभिन्न पेशागत र नीतिगत मागसहित आन्दोलनरत शिक्षकहरूले आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव रमेश रुपाखेतीका अनुसार विगतमा सरकारसँग शिक्षक महासंघले पेस गरेको ३४ बुँदे मागको स्मरण गराउँदै सातै प्रदेश, जिल्ला समन्वय समितिमा दबाबमुलक कार्यक्रम गरिएको जानकारी दिए ।

शिक्षकहरूले संघीय शिक्षा ऐन ल्याइनुपर्ने, सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै शिक्षकका लागि अस्पतालको व्यवस्था गरिनुपर्ने, राज्यको ढुकुटीबाट तलब खाने सबैका छोराछोरी सरकारी विद्यालयमा पढाइनुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सरुवा–बढुवा वैज्ञानिक गर्नुपर्नेलगायतका माग राखेका छन् । सम्बन्धित निकायले आफूहरूको मागलाई बेवास्ता गरे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रदर्शन गरिने बताएका छन् ।

प्रकाशित मिति:     १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar