साउन १५ गतेभित्र ३२ लाख खोप आइपुग्ने

साउन १५ गतेभित्र ३२ लाख खोप आइपुग्ने

काठमाडौं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिए । गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार जहाज चीनतर्फ जाने भएको उनले बताए । निगमको वाइडबडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ ।

यस्तै मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा छिट्टै दिइने बताए ।

प्रकाशित मिति:     २ श्रावण २०७८, शनिबार  |    Himali Khabar