त्रिविले रोकिएका परीक्षा साउन भित्र लिने

त्रिविले रोकिएका परीक्षा साउन भित्र लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउनभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो ।

परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।

हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर परीक्षा हुन सकेको छैन । यस पटक स्नातक तहमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ । मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ ।

परीक्षा मोडेलको निर्णय छिट्टै परीक्षाको मोडेलका बारेमा अर्को सातासम्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्यमबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले बताए ।

विश्वविद्यालयले कोरोना सङ्क्रमण बढेपछि सेमेस्टर प्रणाली अध्ययन गर्ने सबै विद्यार्थीको परीक्षा भने अनलाइन माध्यमबाट लिन थालेको छ ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar