भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्दा एक खर्ब १० अर्ब खर्च भयो

भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्दा एक खर्ब १० अर्ब खर्च भयो

काठमाडौं । सरकारले चालू आर्थिक वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार पाँच सय ५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार पाँच सय ५३ विद्यालयमध्ये छ हजार दुई सय ४६ वटा भवनको पुनःनिर्माण भइसकेको र बाँकी एक हजार तीन सय सात विद्यालय असारसम्म पुनःनिर्माण गरिने जानकारी दिए ।

आयोजनाले भूकम्पबाट क्षतिग्रस्त भएका ३१ जिल्लाका सात हजार ५५३ विद्यालयको पुनःनिर्माण विसं २०७२ बाटै गर्न थालेको हो । विसं २०७२ बैशाख १२ को भूकम्पले अतिप्रभावित १४ र कम प्रभावित १७ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार पाँच सय ८४ कक्षा कोठामा क्षति पुगेको थियो । क्षति भएकामध्ये एक हजार पाँच सय १९ विद्यालयको पुनःनिर्माणको काम हुन नसकेको उनले जानकारी दिए । जग्गा विवाद, पुरातत्वको कारणले ती विद्यालयको पुनःनिर्माण हुन नसकेको हो ।

अहिलेसम्म सात हजार पाँच सय ५३ विद्यालयका ४८ हजार सात सय ११ कोठामध्ये ३५ हजार ५८ कोठा सम्पन्न र १३ हजार छ सय ५३ कोठा अन्तिम चरणमा रहेका छन् । यस्तै पाँच हजार ३६ शौचालयमध्ये दुई हजार सात सय सात ७ सम्पन्न र दुई हजार तीन सय २९ निर्माणाधीन रहेका छन् ।

विद्यालय भवन पुनःनिर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख आवश्यक पर्नेमा हालसम्म ५३ अर्ब १९ करोड ३९ लाख खर्च भइसकेको छ ।

प्रकाशित मिति:     १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar