सरकार समक्ष निर्माण व्यवसायीको ५ बुँदे माग, ७ दिनमा सम्बोधन नभए निर्माण ठप्प पार्ने

सरकार समक्ष निर्माण व्यवसायीको ५ बुँदे माग, ७ दिनमा सम्बोधन नभए निर्माण ठप्प पार्ने

काठमाडौं । निर्माण व्यवसायीहरूले सरकार समक्ष ५ बुँदे माग राखेर ७ दिन भित्र सम्बोधन गर्न अल्टिमेटम दिएका छन् । आज सम्पन्न निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले ५ वटा माग सम्बोधन गर्न सरकारलाई दबाब दिएको हो ।

निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनको त्रुटि र म्याद सकिन लागेका आयोजनाको कम्तिमा एक वर्षसम्म म्याद थप हुनुपर्ने उनीहरूको माग छ । यस्तै, निर्माण क्षेत्रलाई लक्षित गरेर ल्याइएको बीमा निर्देशिका खारेज र आयोजनाको भुक्तानीको सुनिश्चितता गर्नुपर्ने माग निर्माण व्यवसायीहरूको छ । आज सम्पन्न भेलाले यी ५ वटा माग सरकारले सम्बोधन गर्नुपर्ने पारित गरेको छ ।

भेलाको निर्णयअनुसार निर्माण व्यवसायी महासंघले यही चैत १७ गते सरकारलाई यी माग सम्बोधन गर्न ज्ञापनपत्र दिनेछन् । र, आफूहरूको माग सम्बोधन गर्न ७ दिनको अल्टिमेटम दिइने र सोअनुसार चैत २४ भित्र सम्पूर्ण मागहरू सम्बोधन हुनुपर्ने बताइएको छ । तोकिएको समयमा आफूहरूको माग सम्बोधन नभएमा देशभरको निर्माण कार्य रोक्नेसम्मका आन्दोलन कार्यक्रम घोषणा हुने महासंघले बताएको छ ।

प्रकाशित मिति:     १६ चैत्र २०७८, बुधबार  |    Himali Khabar