बढ्न सकेन बैङ्कहरूको निक्षेप सङ्कलन

बढ्न सकेन बैङ्कहरूको निक्षेप सङ्कलन

काठमाडौं । वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्न सकेको छैन । चालू आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन कर्जा प्रवाहको तुलनामा निकै कम देखिएको छ ।

बैङ्कहरूले निक्षेप तान्न मङ्सिरदेखि ब्याजदर बढाए पनि कात्तिकको तुुलनामा मङ्सिरमा पनि निक्षेप सङ्कलन घट्ने क्रम रोकिएको छैन । नेपाल बैङ्कर्स सङ्घको तथ्याङ्कअनुसार बैङ्कहरूको निक्षेप सङ्कलन विगत छ वर्ष यताकै न्यून देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा बैङ्कहरूको निक्षेप सङ्कलन जम्मा ३२ अर्ब रुपैयाँले बढेको छ ।

चालू आवको मङ्सिर पहिलो साता चार अर्ब रुपैयाँँले निक्षेप घटेको बैङ्किङ प्रणालीमा गत साता पनि करिब सात अर्ब रुपैयाँ घटेको हो । नेपाल राष्ट्र बैङ्कले ब्याजदरमा सीमा तोकेपछि बैङ्कहरूबाट क्रमिक रूपमा निक्षेप घटिरहेको छ । गत आर्थिक वर्षको सोही चार महिनामा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन एक खर्ब ६१ अर्ब रुपैयाँ बढेको थियो । यस वर्षको सुरुवातदेखि नै बैङ्कहरूमा निक्षेप सङ्कलन निरन्तर घटिरहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को यसै अवधिमा बैङ्कहरूको निक्षेप एक खर्ब २१ अर्ब रुपैयाँ बढेको थियो भने २०७५÷७६ मा ९६ अर्ब, २०७४÷७५ मा ७८ अर्ब, २०७३÷७४ मा ७६ अर्ब र आर्थिक वर्ष २०७२÷७३ मा पनि निक्षेप सङ्कलन ५६ अर्ब
रुपैयाँ बढेको थियो ।

प्रकाशित मिति:     १९ मंसिर २०७८, आईतवार  |    Himali Khabar