आगामी माघमा मूल्यवृद्धि १० प्रतिशत पुग्ने अनुमान

आगामी माघमा मूल्यवृद्धि १० प्रतिशत पुग्ने अनुमान

काठमाडौं । नेपाली उपभोक्ताले आगामी माघमा औसत मुद्रास्फीति १० प्रतिशत हुने अनुमान गरेका छन् । नेपाल राष्ट्र बैङ्कले २०७७ माघमा गरेका सर्वेक्षणबाट यस्तो देखिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कले सातवटै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट मुद्रास्फीतिसम्बन्धी अपेक्षा सङ्कलन गरेको थियो । अपेक्षा सङ्कलन गर्दा २०७७ माघको औसत मुद्रास्फीति आठ प्रतिशत रहने र २०७८ वैशाखको मुद्रास्फीति ८.७ प्रतिशत हुने उल्लेख गरेको थियो ।
प्रतिवेदनअनुसार आगामी माघमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको सङ्ख्या करिब ९४ प्रतिशत रहेको छ । त्यस्तै ४८.३ प्रतिशत उत्तरदाताले एक वर्षमा सामान्य मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्। २.७ उत्तरदाताले भने उपभोग्य वस्तुको मूल्य घट्ने अपेक्षा गरेका छन् ।

त्यस्तै ३१.३ प्रतिशत उत्तरदाताले खाद्यवस्तुका सामग्रीको मूल्य बढ्ने अपेक्षा गरेका छन् भने ३९.६ प्रतिशतले गैरखाद्य वस्तुको मूल्य बढ्ने अपेक्षा गरेका छन् । ६२ प्रतिशतले हाउजिङ र रियल स्टेटको मूल्यमा बढोत्तरी हुने अपेक्षा गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

प्रकाशित मिति:     ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar