सोह्र लाख नेपालीले लगाए कोरोनाविरुद्धको खोप

सोह्र लाख नेपालीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, चैत ५ गते । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका स्वास्थ्यकर्मीलगायतका अन्य प्राथमिकतामा परेका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो प्राथमिकता क्रममा परेका व्यक्तिलाई वैशाखमा खोप दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आईसीएसको बैठकले पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो पटकको खोप दिने निर्णय भएको जानकारी दिए। तीन महिनापछि पहिलो चरणमा खोप लगाएकाले दोस्रो पटकको खोप पाउन लागेका हुन् । सुरुमा चार हप्तापछि दोस्रो पटकको खोप लगाउने भनिए पनि अध्ययनले आठ देखि १२ हप्ता दोस्रोपटक खोप दिँदा प्रभावकारी हुने देखाएपछि सोअनुरूप गरिएको हो ।

दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिलाई पहिलो मात्रा दिने विषयमा निर्णय भएको छैन । सरकारले खोप अभियान सुुरु गरेको पहिलो प्राथमिकतामा चार लाख २९ हजारले खोप लगाएका थिए ।
हालसम्म खोप १६ लाख पाँच हजार ७०६ जनाले खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २३ गतेदेखि सञ्चालन भएकोे दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सम्पन्न भएको छ ।

प्रकाशित मिति:     ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar