नेपाल– अमेरिका सम्बन्ध ७५ वर्षमा प्रवेश, राजदूत बेरीले दिए शुभकामना

नेपाल– अमेरिका सम्बन्ध ७५ वर्षमा प्रवेश, राजदूत बेरीले दिए शुभकामना

काठमाडौं । नेपाल र अमेरिकाबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ । यो अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले एक शुभकामना सन्देशमार्फत यस अवधिमा नेपाल र अमेरिका एक अर्काको साथमा उभिँदै आएको बताएका छन् ।

उनले अमेरिकी जनताले पनि नेपालीहरुलाई चिकित्सा र विज्ञानमा प्रगति गर्ने, पर्वतारोहीका रुपमा लगभग असम्भव उचाइमा पुग्ने, शान्ति सेनामा सम्मानजनक र बहादुरीसाथ सेवा गर्ने मानिसका रुपमा चिन्ने उल्लेख गरेका छन् ।

सन्देशमा नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीको सशक्त परिणामलाई झल्काउने र सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको बेलामा युएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गर्‍यो र सन् १९६८ भित्र औलोका बिरामीहरूको सङ्ख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झरेको बताएका छन् ।

महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको छ । साथै, गत फागुनमा नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौतालाई अनुमोदन गर्‍यो । यस कम्प्याक्ट कार्यक्रमको प्रतिफलस्वरूप नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्नेछ र २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्ने राजदूतको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति:     १६ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar