सामाजिक सुरक्षा भत्ता अब तीन–तीन महिनामा वितरण हुने

सामाजिक सुरक्षा भत्ता अब तीन–तीन महिनामा वितरण हुने

काठमाडौं । सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक (तीन–तीन) रुपमा वितरण हुने भएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वितरण हुँदै आएको थियो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८–७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा त्रैमासिक रुपमा हुने व्यवस्था गरेको छ । सोही नियमलाई चालु आवबाट कार्यान्वयनमा ल्याइने भएको हो । विभागले सबै स्थानीय तहलाई यस प्रकारको व्यवस्था मिलाउन भनेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले देशभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३४ लाख ६५ हजार ७ सय १३ जना रहेको छ । सरकारले सामाजिक सुरक्षामा वार्षिक १ खर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति:     २२ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar